Wednesday, January 14, 2026

तगडा सत्यवती बनाउने महायात्रा – संस्मरण

  


 

लक्ष्मण शर्मा (पूर्वप्रधानाध्यापक)

 

सत्यवतीको प्रा वि तहमा दुई वर्ष पढेर २०३४ सालमा आदर्श मा वि, गजुरीमा भर्ना भइयो। अरु त ठिकै थियो, करिब ९ किमि पर दिनदिनै अर्काको गाडी चढेर स्कूल जान र घर फर्कन गारो थियो। डेरा लिएर बस्ने ढङ्ग र आँट पनि थिएन। दुई वर्षपछि पढ्नै भनेर काठमाडौं छिरियो। काठमाडौंमा शान्ति विद्यागृह, सिध्दार्थ वनस्थली, अमृत क्याम्पसबाट विज्ञानमा स्नातक गर्दा २०४६ साल सकिएको थियो। त्यहि २०४६ सालमा मुलुकभरि प्रजातान्त्रिक आन्दोलन चर्केको थियो। त्यहि कारण विश्वविद्यालय बन्द भएकोले म गाउँमा गएको थिएँ। गाउँमा सत्यवती स्कुललाई मा वि बनाउने अभियान थियो।  स्वभाविकै ढङ्गले त्यसमा जोडियो। गाउँमा भौतिकशास्त्र, रसायनशास्त्र र गणितमा स्नातक गरेको आफ्नै गाउँको पूर्व विद्यार्थी पाउँदा सबैलाई काम लाग्ने भइयो। त्यहाँ माथि केही समय निजी विद्यालयमा र ट्युसन पढाएको अनुभव त छँदै थियो। २०४७ सालमा त्रिभुवन विश्वविद्यालय क्याम्पसमा फिजिक्समा भर्ना भएँ, तर तगडा सत्यवती बनाउने अभियानले तान्यो, टिक्न सकिन। अनि होमियो, साथीभाइ सङ्गै गाउँमै तगडा हाइस्कुल बनाउने महायात्रामा। गाउँलेले अबिर दलेर हेडमास्टर पनि बनाइदिए। 

तगडा सत्यवती हाइस्कूलको परिकल्पना

गजुरी पढ्दा दुःख पाएका सहपाठीहरु बिच ३४-३५ सालतिर ठूलो भएपछि आदमटारमा नै हाइस्कूल बनाउने गफ गरिएको जस्तो लाग्छ। हाइस्कूल बनाउने अभियानमा जोडिँदा म २२ वर्ष मात्र लागेको थिएँ। यो महायात्राका अरु सहभागीहरु पनि त्यस्तै २५ भन्दा बढी थिएनन्। २०३२ सालमा स्कुल सुरु गर्ने अभिभावकहरुको पुस्ता ४० - ५० को थियो। हामी राम्रोलाई पनि, सिपालुलाई पनि, गुणस्तरीयलाई अर्थात  सामान्य भन्दा उत्कृष्ठलाई तगडा भन्थ्यौं। स्कूल तगडा के गरी हुन्छ भन्ने चाहिँ राम्ररी थाहा थिएन तर हामी सबै ठिटाहरु सत्यवती स्कुललाई तगडा बनाउन चाहन्थ्यौं।  अहिलेका जेन्जीहरूले देश बनाउने कुरा गरे जस्तै। यी कुराहरु सूचीमा लेखिएको थिएन, त्यसैले ठ्याक्कै भन्न सकिन्न, करिब ३० वर्ष विद्यालयको प्रशासनिक नेतृत्व गर्दा सत्यवती स्कूल तगडा भयो कि भएन भनेर। यो त्यहाँका अभिभावक, विद्यार्थी र अरु साझेदारहरुले निष्कर्ष निकालुन्। मैले चाहिँ यहाँ केहि सम्झेका बुँदाहरु यहाँ टिपेकोछु।   

पूर्वाधारमा तगडा

त्यो बेला अढाई रोपनी जति जमिनमा ढुङ्गाले छाएको एउटा साँघुरो स्कुल थियो। त्यो भवनको दक्षिणपट्टि एउटा ६ कोठे भवन थप्ने भनेर जग हालिएको थियो। प्राङ्गण खाली गर्न भनेर आँपको रुख काट्दा भएको स्कुल पनि ध्वस्त भएको थियो। त्यसैले हिउँदभरि आदम खोलाको बगरमा ढुंगामा  बसेर विद्यार्थी राखेर पढाइयो। करिब छ महिना लगाएर जनश्रमदानमा त्यो भवन बनाइयो। साँधमा आन्तरिक श्रोतबाट घडेरी किनेर ५० सालमा सिविनको सहयोगमा दुई कोठे प्लास्टर गरेको भवन तयार गरेर  स्टिलको  दराज भएको अफिसमा मेचमा बस्न पाउँदा के के न भएको जस्तो लाग्थ्यो।  २०५४ सालमा हिकिबाका प्रतिनिधि ताकासी खाजीता लिएर कृष्ण सर आउनुभयो, भवन बनाउने कुरो प्रस्ताव राखियो, भवन बनाउने जग्गा जोडेमा बनाइदिन सहर्ष स्वीकार भयो। नजिकैको वाघको खोरमा सित्तैमा भेटेको जग्गा हिकिबाले अस्वीकार गरेपछि नभएको पैसामा उधारो ८ रोपनी घडेरी जोडियो। व्यापक श्रमदान सहित एकतले भवन बनाइयो। उच्च मा वि बनाउने योजना तयार गरियो। २०५६ बाट सत्यवती उच्च मा वि भयो। त्यसपछि सत्यवती स्कुल धेरै हिसाबले तगडा नै भयो। हरेक वर्ष थपिएको विद्यार्थी सङ्ख्याका लागि भवनमा तल थपियो। २०६० सालमा प्राथमिक खण्डमा  दुईतले भवन बन्यो।  प्लस टुबाट खर्च गरेर पनि रकम जोगिँदा वरिपरिको जग्गा पनि थपिँदै गयो।  विद्यालय प्रांगण जोडिएको छिमेकी दाताले दिएको जग्गामा  उच्च माविको लागि अर्को भवन बन्यो। जिल्लामा नै पहिलो पटक उच्च मा वि दिउँसो पढाउन थालियो। कम्प्युटर विज्ञानको पढाइ हुन थाल्यो। इन्टरनेट जोडियो। खानेपानी र सफा शौचालयहरू बन्न थाल्यो। खेलकुदका लागि यथेस्ट स्थान भए कम्पाउन्ड तारबार र भयो। प्रयोगशाला र पुस्तकालयहरू भए। सरकारले ल्याएको कार्यक्रम अनुसारको नमुना माध्यमिक विद्यालयमा छनोट भएपछि अहिलेको आकार र भव्य पूर्वाधार खडा भयो। साउन्ड सिस्टम र कन्सोर्टियम हल बन्यो।  विद्यालय कम्पाउन्ड भित्र कृषिको प्रयोगशाला र ग्रीन हाउसहरु निर्माण भयो। ठूलो टावर क्लक राखेर विद्यालय भवनको नयाँ पहिचान निर्माण गरियो। मूल सडकबाट विद्यालय भवनसम्म जाने कंक्रिट रोड तयार भयो। आँपटार, आमडाँडा र मुलाबारीमा दानमा प्राप्त भएको जग्गाहरु छन्। यसबेला सत्यवती स्कुलमा भौतिक पूर्वाधार के कति छ, छैन भन्नु पर्दैन, बरु कति प्रयोग गर्दैछौं भन्ने प्रश्न हो। योतगडा सत्यवतीबनाउने सपनाको एउटा महत्वपूर्ण खुड्किलो अवश्य हो।

विद्यार्थी संख्यामा तगडा

सत्यवती प्रा वि स्थापना हुँदा धादिङमा २०० वटा जति प्राइमरी स्कुल थिए होलान्। त्यसैलाई २०३७ मा नि मा वि स्कुल सुरु गर्दा कति जति स्कुल थिए थाहा भएन। तर २०४६ सालमा प्रस्तावित मा वि सुरु गर्दा हामी २४औं थियौं। उच्च मावि सुरु गर्दा छैठौं भयौं। हामीले २०४६  सालमा हाइस्कुल चलाउने सपना देख्दा विद्यालयमा कुल २०० जति बालबालिका भर्ना हुन्थे। धेरैले पढाइ बीचमै छोड्थे।  उमेर नाघेका पनि  धेरै थिए। आदमटारमा पढाइ राम्रो छ भन्ने हल्लाले  कक्षा ८ बाट ९ सञ्चालन गर्दा ३० जनाबाट ६३ पुगेको थियो। एसएलसी दिँदा ताक २०४९ सालमा हाम्रो कुल विद्यार्थी सङ्ख्या ४५० जति थियो। हरेक वर्षको एसएलसीको नतिजाको आधारमा छिमेकी स्कुलहरु भन्दा हाम्रो नतिजा बढी हुँदै गएपछि साँध सिमानाबाट पनि विद्यार्थीहरु आउन थाले। आदमटारको हरेक खाली घरगोठमा  विद्यार्थीहरु डेरा लिएर बस्थे। २०६४ सालतिर  हाम्रो कुल विद्यार्थी सङ्ख्या १४०० जति र एसएलसी परीक्षा दिनेको संख्या करिब २०० हुन्थ्यो। नतिजा पनि लोभ लाग्दो नै थियो। त्यो सङ्ख्या धादिङ जिल्लाका मा वि हरूमा दोस्रो ठूलो सङ्ख्या थियो। यो सम्भव तुल्याउन हामीले पढाइ, खेलकुद, छात्रवृत्ति, छिमेकी विद्यालयहरूमा सहयोग कार्यक्रम, स्रोत केन्द्र परिचालन र द्वन्दको बेलामा पनि अत्यन्त कम बन्द हुने विद्यालयको पहिचान बनाएका थियौं। सवा १०० जति घर भएको एउटा गाउँमा वल्लो पल्लो गाउँ र छिमेकी जिल्लाहरुबाट समेत यत्रो विशाल सङ्ख्यालाई शिक्षा दिनु आफैमातगडा सत्यवतीको परिचय बन्यो।

 

 

अभिभावक सम्बन्धमा तगडा

 हामी सत्यवती स्कुलको स्थापनाकालना गाउँका अगुवाहरुले चन्दा उठाएको, देउसीरे खेलेको देखेका थियौं।  ०४६ सालमा माध्यमिक विद्यालय बनाउन सुरु गर्दा  पनि त्यो क्रम जारी रह्यो। अझ नयाँ पुस्ताले विद्यालयको बागडोर सम्हालेपछि  त्यो क्रम अझ बढ्यो । विद्यालयका हरेक रणनैतिक निर्णयहरू गर्दा अभिभावक भेलाबाट गरिन्थ्योत्यसैले कार्यान्वयनमा अभिभावकहरुले अपनत्व लिन्थे। गुनासो मज्जासित सुनिन्थ्यो सकेसम्म समाधान पनि गरिन्थ्यो। । २०५१ सालमा मा वि दरबन्दी नआउन्जेल शिक्षकहरुलाई तलब खुवाउन नै शुल्क उठाउनुपर्थ्यो, त्यसले पुग्दैनथ्यो र अभिभावकहरुसँग हात फैलाउनै पर्थ्यो। माओवादी द्वन्दको समयमा अभिभावक विद्यार्थी र शिक्षकको एकता निर्माण गर्न धेरै नै छलफल बैठकहरु हुने गर्थे।  हरेक निर्माणको चरणमा जनश्रमदानलाई अभिभावकसँग सम्बन्ध विस्तारको कडीको रुपमा लिइन्थ्यो। हुर्केका विद्यार्थीहरूबाट पनि मनग्य  काम  लिइन्थ्यो। निजी घरमा वा सामुदायिक वनमा आगलागी हुँदा हुर्केका विद्यार्थीहरूले निभाएको सम्झन्छु। पूर्व विद्यार्थीहरूलाई पनि कुनै न कुनै रूपमा समेट्न थालियो। विद्यालयमा समितिहरु बनाउँदा समुदायमा भएको विभिन्न प्रकारका द्वन्दहरूको व्यवस्थापन गरिन्थ्यो, समावेशी संरचनाहरू बनाइन्थ्यो। जम्मा भएर गफ गर्ने सहभागिता होइन सत्यवती स्कुलमा श्रमदान गर्नका लागि सहभागिता हुन्थ्यो। हाम्रो श्रमदानको कार्यक्रममा अभिभावक, विद्यार्थी, शिक्षक, सांसद, जिल्ला शिक्षा अधिकारीहरू काठमाडौँबाट आएका हिकिवाका सदस्य पाहुनाहरू र विदेशीहरुले पनि भाग लिएका थिए। आदमघाट बजारदेखि विद्यालयको कम्पाउन्डसम्म लाइन लागेर २७००० इँट्टा एकाध घण्टामा नै ओसारेका थियौं। म र कतिपय शिक्षक साथीहरुले त साबेल चलाउन, डोको बोक्न, गल हम्मर चलाउन त्यहिँ विद्यालयमा नै सिकेका थियौं।

बदलिँदो परिस्थितिमा विविध संस्थाहरुसंग सहकार्य पनि गरियो। साझेदारहरु मध्ये सत्यवती विद्यालयलाई तगडा बनाउने मूल श्रेय हिकिवा जापानलाई जान्छ। अरुहरुमा सिविन, एसपीडब्लु, पीसकोर्प्स, जाइका र पूर्व विद्यार्थी समाज (SAAN) आदि थिए, सम्झनुपर्दछ। सबै प्रति कृतज्ञता र धन्यवाद दिन्छु, र दिइरहनुपर्दछ।

पठनपाठनमा तगडा



सर्वत्र अस्थिरता मच्चिएको बेलामा सामुदायिक विद्यालयको सफलता शिक्षकको हातमा हुने रहेछ। धेरै विद्यालयसङ्ग नभएको जनशक्ति सत्यवती स्कूलले पायो। विज्ञान, गणित, अंग्रेजी, नेपाली, लेखा पढाउने जिल्लाकै उत्कृष्ठ शिक्षकहरु स्थानीय स्तरमा नै उपलव्ध भएकोले अरु विद्यालयले जस्तो शिक्षकको अभाव झेल्नुपरेन। दुःखको एउटा चरण पार गरेपछि सत्यवती स्कूल शिक्षकहरुको माझमा उत्कृष्ठ गन्तव्य पनि बन्यो। त्यसपछि त आफ्नै पूर्व विद्यार्थीहरु लाइन लागिहाले।

योग्य शिक्षकहरुको मन मिलेको टीम भए पछि सबै कुरा सम्भव भयो। कोचिङ एक्स्ट्रा क्लास, अतिरिक्त कृयाकलाप, प्रयोगात्मक कक्षाहरु, वैकल्पिक सिकाई, स्पोर्ट्स वीक जस्ता अवसरहरु उपलव्ध भए। क्यारियर काउन्सेलिङ, ओपेनबूक एक्जाम जस्ता धेरै प्रकारका परीक्षणहरु पनि गरियो। केहि परीक्षण गरेर पनि छोडियो। सुस्त श्रवणका वालवालिकाहरुको विशेष कक्षाहरु केहि वर्षमा छोडियो। प्लास टूमा वातावरण विज्ञान र कम्प्युटर विज्ञान शिक्षण छोडियो। वर्षौंदेखि उच्च मा वि तहमा विज्ञानका विषयहरु पढाउने अनुमति प्राप्त गरिएको थियो। त्यो पार लागेको छैन।    

तगडा सत्यवती बनाउने यो मुख्य काम थियो, सुरुका वर्षहरुमा अरु अभाव झेलियो। बल्ल बल्ल धेरै अभावहरुलाई सम्वोधन भयो, तर म बाहिरिएँ। अझै धेरै कामहरु बाँकी छ जस्तो लाग्छ। सकिन्छ। गर्नुपर्छ।          

सिकाईमा तगडा

धेरै समय सत्यवती स्कूल पूर्वाधार विकासमा नै अलमलियो। बढ्दो विद्यार्थी संख्याले पनि हैरान भइयो। तर, उबेलाका कुनै पनि नतिजामा छ्या भन्न सक्ने बन्न दिएनौं। हामी सधैं छिमेकी विद्यालयहरु भन्दा उत्कृष्ठ नतिजा दिनै पर्ने दवाबमा हुन्थ्यौं। कुनै वर्ष जिल्लाको एसएलसी टप निकाल्यौं, कहिले धेरै प्रतिशत पास गराउने निकाल्थ्यौं। त्यसैको हिसाब हुन्थ्यो। पछिल्लो समयमा खेलकुद विकासमा पनि राम्रो समन्वय मिल्यो। अन्तर मा वि राष्ट्रपति शिल्ड खेलकुदले सत्यवती मा वि, गेमको एउटापावर हाउसनै बन्यो। अरु अतिरिक्त कृयाकलापहरुमा पनि उल्लेखनीय काम गरियो।

अर्को सूचकको हिसाबले हेर्दा हाम्रा पूर्व विद्यार्थीहरु राजमार्ग क्षेत्रका हरेकजस्तो विद्यालयमा मा वि शिक्षक छन्। अन्यत्र पनि होलान्। आधारभूत तहमा त सैयौं होलान्। निजामति सेवामा उपसचिव हुन थालेकाछन्। आठ दशजना डाक्टर होलान्, २५ जना जति इन्जिनियर होलान्। बैंक, मिडिया र अन्य संगठित तथा निजी क्षेत्रमा हिसाब किताव छैन। जनप्रतिनिधि र प्रतिस्पर्धा गर्ने हैसियतका स्थानीय तहमा नेताहरु छन्।

विदेशको कुरा गरी साध्य छैन। १५ वर्ष अघि सौल (कोरिया) मा २ महिना बसेको थिएँ, हरेक सार्वजनिक विदाको दिन फरक फरक विद्यार्थीहरु भेट गर्न आउँथे। अमेरिकामा पनि विद्यार्थीहरु भेटघाट भयो, कार चढाएर घुमाए। अस्ट्रेलिया, जापान र बेलायतमा धेरै प्रगति गरेकाछन् रे भन्ने सुनेकोछु। अरब र पूर्वी युरोपमा धेरै काम गरिरहेका छन्। अब ‘सत्यवतीयनहरु’ले सांसद र दर्शनाचार्य बनेको हेर्ने धोकोछ, पक्कै हुनेछन्। ठूलो संख्यामा पूर्ख्यौली दीगो काम खेतीपाती र व्यवसायहरुमा रमाएर आफ्नै समुदायमा योगदान गरेका छन्, त्यो झन ठूलो काम हो।

यो तगडा सत्यवती बनाउने महायात्रामा थुप्रै त्रूटी कमजोरीहरु पनि गरिएछ। मलाई यहाँ लेख्न पनि लाज लाग्छ, म सहयोगात्मक भन्दा पनि कडा शिक्षक / प्रधानाध्यापक थिएँ। धेरैलाई दण्ड सजायँ गरेँ।  वालमनोविज्ञान र शिक्षण विधि नपढेको रुखो गणित विज्ञान विषयको विद्यार्थी भएर होला, विद्यार्थी तह लगाउनुपर्दछ भन्ने ग्रन्थी बढी थियो।  त्यो बेलामा अभिभावकहरुबाट  पनि त्यस्तै माग आउँथ्यो। जहिलेबाट यो गलत हो भन्ने बुझियो, करेक्सन पनि गरियो। तर कुनै विद्यार्थीले अगाडि प्रतिवाद चाहिँ गरेनन्। योग्य शिक्षक छनौट गर्ने मेरो अडानको धेरैले प्रशंसा गर्दथे। उत्कृष्ठ र जांगरिलो मान्छे मेरो छनौट हुन्थ्यो, तर यस्ता शिक्षक टिकाउन गार्हो। तर, जान्छु भन्नेलाई दवाबमा रोकिएन, यसलाई अझ तगडा छनौट गर्ने अवसरको रुपमा लिइयो। अर्को धेरै महत्वको काम अभिलेखिकरण कमै गरिएछ। यसले तथ्यहरु तोडमोड हुने हो कि भन्ने शंका लागिरहन्छ।   

 धेरै निर्णय लिनुपर्दा बेला बेलामा धेरै विवादमा पनि परियो। विद्यालय भवन प्रा वि भएकै पूरानै ठाउँमा नै बनाऔं, ब्याचलर तहको क्याम्पस चलाऔं, भन्ने आग्रहहरु मान्न सकिएन। राजनीतिक आग्रहका साथ आएका बन्दको, निःशुल्क शिक्षा, फी फिर्ता र चन्दा आदिको आग्रहहरु मान्न सकिएन। यहि मामिलामा विद्यालयबाट विद्यार्थी शिक्षकहरु अपहरणमा परे, म माथि हातपात पनि भयो, अनेक अपमान व्यहोरियो, कुनै गुनासो छैन। आजकल त्यो बेलामा ठिकै गरिएछ भन्ने लाग्छ। मान्न नसकिएका व्यक्तिगत आग्रह, अनुरोधहरुको त हिसाब किताब नै छैनन्। त्यसैको आधारमा अब सामाजिक वा सामुदायिक सम्बन्धमा आग्रह नराखे हुन्थ्यो जस्तो लाग्छ।   

सारांश

सत्यवती स्कूल तगडा बनाउन भनेर धेरै जनाले महत्वपूर्ण उमेर बिताइयो। मैले त जनस्तरबाट नै ‘सर’ भन्ने उपाधी पाएँ। धेरै सिकियो। त्यहाँको अनुभव धेरैलाई सिकाउने अवसर पनि पाएँ।  उच्च शिक्षा अध्ययन, तालिम, विदेश भ्रमण गर्ने अवसरहरु पनि पाइयो। तर सबैले मैले जस्तो अवसर पाएनन्। कतिपय मेहनती अभिभावकका छोराछोरीले स्कूल तह पनि पार गरेनन्। सामान्य सहयोग गर्दा ठूलै प्रगति गर्न सक्ने बालबालिकालाई पनि सहयोग गर्न सकिएन होला। यस्ता फेहरिस्त पछि फेरि लेखौंला।

 जीवनभरको अध्ययन र अनुभवबाट मैले पाएको शिक्षा के हो भने, सफलता चमत्कार हैन रहेछ, कुरेर बस्दा आफैं आउँदैन। सफलता प्राप्त गर्नको लागि परिवर्तन प्रतिको प्रतिवध्दता, वुध्दिमत्तापूर्ण योजना र निरन्तरको मेहनत चाहिन्छ। यति भएमा अरु सबै आवश्यक तत्वहरु पछि लागेर आउँछन्। बाँकी तर्कहरु अयोग्यताहरु हुन्।