Wednesday, June 1, 2022

आदमखोलाको फड्के - अब त तर्ने कि ?

 नमस्ते, सबैलाई । 


    वि सं २०७७ र २०७८ को दुइटा शैक्षिक सत्र कोविड १९ को लकडाउनले अस्तव्यस्त बनायो। दुई वर्षको गरी करिब ९ महिना वैकल्पिक सहजिकरण भनेर अनेक प्रयास गरियो, तर पढाई लेखाई आशा गरे अनुसार गर्न सकिएन। यो वर्षको सुरुमा नै चुनाव लाग्यो। चुनाव अघि नै लगभग भर्ना सकेका थियौं। कोविडको खोप लगाइसकियो। चुनाव लगत्तै अब प्रतिफल आउने गरी काम सुरु गर्ने र विद्यालयलाई यो जिल्लाको एउटा उत्कृष्ठ शैक्षिक गन्तव्य बनाउने गरी योजना बनाउँदैछौं। पाठ्यपुस्तक आइसकेको छैन, तर पढाई सुरु गरिसकेका छौं। 




यो हप्ता दुइटा महत्वपूर्ण काम गरियो।  पहिलो चाहिँ गत २०७९ साल जेठ ९ गते सोमबार प्राथमिक तहका अभिभावकहरुको भेला बैठक डाकियो। उक्त भेलामा अधिकांश महिलाहरु सहित करिब १२५ जति अभिभावकहरुको उपस्थिती रहेकोथियो। विद्यालयमा शिक्षक विद्यार्थीहरुको नियमितता, विद्यालय खाजाको कार्यक्रममा सुधार, थप पाठ्यपुस्तकको व्यवस्था आदि विषयमा रायहरु सङ्कलन गरिएका थिए। त्यहाँ विद्यार्थी दिनदिनै पठाउनुहोस, चाडबाड मावली विवाह ब्रतवन्ध भनेर केटाकेटीलाई नरोकिदिनुहोस भनेर अनुरोध गरियो। त्यहि बिचमा, एकजना छत्तिनटार भेगका अभिभावकले बाढी आउँदा के गर्ने नि, भनेर झोक्किनुभयो। अरु कसैले बाटोको कुरा यहाँ के गरेको त भनेर प्रतिवाद गरे। तर उनले अझै अगाडि सरेर केटाकेटी स्कूल आउने बाटो ठाडो खोलाको बाढीले छेकिन्छ, साना केटाकेटी कसरी पठाउने, हामीले भन्न थालेको कति वर्ष भयो कोहि सुन्दैन अनि कहाँ भन्ने त भनेर झन चर्किए। मैले हस्तक्षेप गरिन, वहाँहरुले पोहोर तिर पनि यहि कुरा गर्नुभएको थियो। आदमटारमा केटाकेटी भर्ना ग-यो, भलबाढी आउँदा डर हुन्छ भनेर। वहाँ झोक्किनु भएको थियो। 



कुरा आदमखोलाको हो। अहिले सत्यवती स्कूल खुले ४६ वर्ष भयो, मा वि कक्षा सुरु गरेको ३२ वर्ष र उ मा वि सुरु गरेको पनि २२ वर्ष भयो। आमडाँडा, छत्तिनटार, छाङ्गेटार भेगबाट सधैं विद्यार्थी आउने जाने गर्छन्। बिभिन्न कारणले आदमखोलामा भलबाढी बढेकोछ। मौसममा परिवर्तन भएर वर्षादको समय पनि अघि सरेकोछ। यो खोला बालबालिकाको स्कूल जाने मामिलामा सधैं वाधा रहेकोछ। स्कूल क्रमशः प्रा वि बाट नि मा वि, नि मा वि बाट मा वि, उच्च मा वि, नमुना मा वि, प्राविधिक मा वि अनेक भयो तर आदमखोलाको वाधा कहिल्यै फेरिएन, वहाँको आक्रोश जायज थियो। 

आदमखोला हालको सिध्दलेक-७ र साविकको कुम्पुर – ६ लाई हालको गल्छी ३-२ अर्थात साबिकको कल्लेरी- ६ र ८ छुट्याउने साँध खोला हो। त्यसैले त्यस खोलामा फड्के हाल्ने काम ओझेलमा पर्ने गरेकोछ। सिध्दलेकको विकास निर्माणको कुरा गर्दा त्यो काम गल्छीको लागि र गल्छीको कुराकानीमा त्यो सिध्दलेकको लागि गर्ने काम जस्तो देखिन्छ। विगतमा सत्यवती स्कूल विकास निर्माणमा दुबै तर्फका नागरिकहरुले उत्तिकै मेहनत गरेर बनाएका हुन् तर बाटोघाटोको कुरा गर्दा कताको बजेटबाट बनाउने भन्ने मुद्दा हुन्छ नै। 





अभिभावक भेलाको भोलिपल्टै गल्छी ३ का नवनिर्वाचित वडाध्यक्ष क. राजन भुजेलसङ्ग मैले त्यो खोलामा फड्के हाल्ने कुरा गरें। वहाँले त्यहाँ कज वे बनाउने कुरा गर्नुभयो। कज वे गाडीहरुको लागि गर्ने हो, ढिलो पनि होला, पैदल हिड्ने र स्कूल आउने जाने साना केटाकेटीको लागि फड्के बनाउन पाए हुन्थ्यो भनेर भनें। फेरि सिध्दलेकका नव निर्वाचित अध्यक्ष श्री परशुराम खतिवडासङ्ग गत आइतबार काठमाडौंमा भेटेर नै कुरा गरें। वहाँले हुन्छ नि भन्नुभएकोछ। तर सरकारी प्रकृया ढिलो हुने स्वभाविक नै छ। 

आज त्यो फड्के हाल्ने आग्रह भएको स्थानमा आफैं गएर हेरें। करिब १० मिटर जति फराकिलो स्थानमा  दुइटा ४ फीट जति अग्लो कंक्रिटको पिलर ठड्याएर बाँस वा काठको करिब २ फिट जति चौडा फलेक तेर्सो पारेर तेर्स्याउन सके फड्के तयार हुनेथ्यो। वर्खाको दुइ महिना जोगाउन सके हिउँद लागेपछि पिलर त्यहिँ छोडेर फलेक अर्को वर्षको लागि जोगाए हुन्छ जस्तो लाग्यो। त्यसमा बारको लागि बाँस वा बलियो पोलमा पिङ खेल्ने जस्तो डोरीले बार्दा पनि हुन्छ होला। पिलरको काखमा खुड्किला बनाए भरेङ चाहिँदैन। केहि फोटोहरु खिचेर ल्याएकोछु। 

त्यसो गर्दा कति खर्च लाग्ला, थाहा छैन। तर निर्माण सामाग्री लगभग त्यहिँ पाइन्छ। सिमेण्ट किन्नुपर्ला। कामदारको खाँचो छैन। ज्याला केहि चाहिन्छ। यति गरिदिन सके सिमलडाँडा, बेलिनटारको वल्लोछेउ लगायत गल्छी गाउँपालिकाबाट आदमटार आदमघाट आउनेजाने विद्यार्थी लगायत सबै मानिसहरुको लागि सुविधा हुने थियो। सबैभन्दा ठूलो काम त दिनदिनै बालबालिका स्कूल पठाउन चाहने तर वर्षाद हुने बित्तिकै झस्किनुपर्ने अवस्था भएका अभिभावकहरुलाई ठूलो राहत हुने देखियो।  




               

हामी केहि गर्न सक्छौं त ? विद्यालयले खोला खोल्चामा फड्के हाल्नेतिर लाग्ने र भने झैं लाग्छ, तैपनि वि व्य समितिमा छलफल गर्नसकिन्छ। झरीबादलमा यो खोला तर्ने झण्झट ब्यहोरेका धेरै विद्यार्थी स्वयम अहिले ठूलो क्षमता हैसियत निर्माण गरेकाछन् । संसारभर फैलिएर आर्थिक सामाजिक उन्नयन गरिरहेकाछन्। अन्य धेरै मिनिङफूल सामाजिक काममा सहभागी हुन चाहनेहरु पनि छन्। छलफल अगाडि बढाऔं, सत्यवती स्कूल लिंकरोड बनाउने काममा रमाइलो र उत्साहवर्धक सहयोग जुट्यो। विद्यार्थीलाई झोला वितरण, खेलकुद सामाग्री वितरण आदि काममा व्यक्तिगत नै सहयोग समेत जुट्यो। स्कुलमा क्लक टावर जडान गर्न गाउँपालिका अघि स-यो। स्कूलमा पित्तलको साइनबोर्ड बनाउन पूर्व विद्यार्थी समाजले कोष संकलन गरेर पठायो। मिलेर गरे यस्तो काम जे आँटे पनि गर्न सकिन्छ भन्ने विश्वास आर्जन भएकोछ। पूर्व विद्यार्थी, जनप्रतिनिधि साथीहरु, सामाजिक अभियन्ता दाता महानुभावहरु, छलफल अघि बढाऔं।






1 comment: