Sunday, January 3, 2016

नेपालको शिक्षामा सूचना र प्रविधिको प्रयोग

October 5, 2013 at 9:34am
आ व २०७०/०७१ को बजेट बक्तव्य मार्फत जारी शिक्षाको नीति तथा कार्यक्रमहरु मध्ये शिक्षामा सूचना र प्रविधिको प्रयोग सम्बन्धि कार्यक्रमले अहिले सर्वाधिक चर्चा पाएकोछ।  हाम्रो शिक्षामा अत्याधुनिक प्रविधिको प्रयोग नौलो सन्दर्भ भएकोले र  धेरै रकम (रु एक अरब) छुट्याएर  देशभरका सबै ७१४३ सामुदायिक माध्यमिक विद्यालय समेट्न खोजेकोले पनि यसले बढी चर्चा पाएको हो।
हामी शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग वास्तवमा नगन्य नै गर्छौं। रेडियो टिभि भिडियो हाम्रा मनोरंजन र समाचार प्राप्त गर्ने साधन मात्र बने।  सस्तो र स्थानीय सामाग्री  प्रशारण गर्न सक्ने सामुदायिक एफएम रेडियोलाई शिक्षण प्रशिक्षणको प्रविधि बनाउने तर्फ ध्यान पुगेकोछैन । यो सूचना र संचार प्रविधिलाई कक्षा कोठामा भित्र्याउने मामिलामा ग्रामिण क्षेत्रका विपन्न विद्यालयहरुको मात्र नभै शहरका सम्पन्न संस्थागत विद्यालयहरुको पनि एउटै अवस्था छ।
शिक्षा क्षेत्रमा गरिने अध्ययन, अनुसंधानको निष्कर्षहरुको आधारमा निर्णय गर्ने भन्दा पनि अन्य विविध जोड र कोणको आधारमा निर्णय लिने हाम्रो पछौटे पध्दतिमा शिक्षामा सूचना र संचार प्रविधिको प्रयोगको बारेमा सार्थक वहस चल्नु वाञ्छनीय र सान्दर्भिक भएकोले यो लेखलाई त्यतै केन्द्रित गरिएकोछ।
पछिल्लो समयमा शिक्षामा प्रविधिको प्रयोग मध्ये सूचना र संचार प्रविधिलाई सबैभन्दा प्रभावकारी मानिन्छ। विकसित राष्ट्रहरुले सार्वजनिक शिक्षामा यो उच्च प्रविधिको प्रयोग गरेर करिब दुई दशक बिताई सकेकाछन्। ती राष्ट्रहरुले गरेको अनुभव र अनुसंधानहरुको आधारमा बनाएको ज्ञान र आफ्नो स्रोत साधनको आधारमा नै अन्य राष्ट्रहरुमा आ-आफ्ना भावि कार्यदिशा र कार्ययोजनाहरु निर्माण गरिनेहुन्। तिनको आधारमा शिक्षामा सूचना र प्रविधिको प्रयोगको बारेमा सामान्यतया पूर्वाधार विकास, जनशक्ति विकास, सफ्टवेयर विकास र विधि पध्दतिहरु निर्माण र कार्यान्वयन गरी चार कार्यक्षेत्रहरु रहनेछन्। ती क्षेत्रहरुमा हाम्रो अवस्थाको समीक्षा गर्दै केही कार्य दिशाहरु यहाँ प्रस्तावित गरिएकाछन्।
  • पूर्वाधार निर्माण
शिक्षामा सूचना प्रविधिको  प्रयोगको लागि पहिलो कार्यक्षेत्र पूर्वाधार निर्माण हो। यसभित्र बिजुली, कम्प्युटर सेटहरु, उच्च र फराकिलो गतिको इण्टरनेट, प्रोजेक्टर- रिफ्लेक्टर, कक्षा कोठा र फर्निचर नै हुन्। ती भित्र सस्तो र निरंतर भरपर्दो बिद्युत; बलियो, सरल र सस्तो कम्प्युटर सेटहरु प्रकाश र धुलो नियन्त्रित कक्षा कोठा र चलायमान आधुनिक फर्निचरहरु हुनु जरुरी छ। कक्षा कोठाको क्षमता २५-३० भन्दा बढी हुनु नहुने त छँदैछ। शिक्षा सामाजिक क्षेत्र भएकोले शिक्षक-विद्यार्थी बाहेक अन्य साझेदारहरुकोसम्म पहूँच पु-याउन गर्न सकिने नेटवर्किङ पनि पूर्वाधार नै हो। विद्यालयको सुशासनको लागि तथ्याङकहरु अपडेट गर्ने र आमरुपमा प्राप्त हुने बनाउन पनि अहिले नै जरूरी छ। सूचना र प्रविधिको कार्यक्रमको नाममा उच्च प्रविधिका साधन सामाग्रीहरुको खरिद र भण्डारणबाट जोगाउनु जरुरी छ। यी साधन सामाग्रीहरु जहिले चाहिन्छ त्यहि बेलामा खरिद गर्दा सस्तो र बढी क्षमताको पाइन्छन् किनभने विश्वव्यापीरुपमा यिनको मूल्य घट्दैछन्। त्यसैगरी केही राष्ट्रहरुमा शिक्षामा सूचना र प्रविधिको प्रयोगको लागि नीजि र सार्वजनिक क्षेत्रको साझेदारी उल्लेखनीय ढंगले भएकाछन्। विश्व चर्चित वहुराष्ट्रिय कम्पनिहरुले शिक्षामा सूचना र प्रविधिको कार्यक्रममा सघाएकाछन्। त्यसबारेमा हाम्रो देशमा चालू ब्राण्डका कम्पनिहरुसंग पनि यो संबन्धमा तत्काल छलफल गर्नु सान्दर्भिक हुनसक्छ।
  • जनशक्ति विकास
यो उच्च स्तरीय प्रविधिलाई विद्यालयमा भित्र्याउन अवस्य पनि सिपालू र शैक्षिक मर्यादाले ओतप्रोत जनशक्ति आवश्यक पर्दछ। अनुभवहरुले के भन्छ भने नयाँ र बाहिरीया व्यक्तिहरुलाई तयार पारेर कक्षा कोठाभित्र पठाउनुभन्दा साविकका शिक्षकहरुलाई आधारभूत तहको तालिम दिएर कक्षा कोठामा भित्र्याउनु खर्च र शैक्षिक दृष्टिकोणहरुबाट पनि उपयुक्त हुनेछ। अझ तिनै शिक्षकहरुलाई प्रोत्साहित गरेर उनीहरुको  सिकाईलाई आ-फ्ना सहकर्मी अन्य शिक्षकहरुमा प्रशारण गर्ने पध्दति निर्माण गर्नु वेश हुन्छ। हाम्रो विद्यालय, तालिमकेन्द्रहरुमा शैक्षिक प्रविधिको बारेमा व्यवस्थित अध्ययन अनुसंधान सुरु भै नसकेकोले खुल्ला सिकाईलाई पहिचान ,प्रमाणिकरण, प्रोत्साहन गर्नु सान्दर्भिक हुनेछ। केही राष्ट्रहरुले बदलिदै जाने प्रविधिलाई साक्षात्कार गराउने गरी शिक्षकहरुलाई चरणवध्द तालिम दिंदै तयार गर्दै कक्षामा प्रवेश गराएकोछ।
  • सफ्टवेयर विकास
यो उच्च प्रविधिलाई विद्यालयमा भित्र्याइसकेपछि, अब कक्षाकोठामा सिकारुहरुसंग के लेनदेन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन आउँछ। हाम्रो मूलुकको सानो बजार र विद्यालयहरुको खरिद सामर्थ्य कम भएकोले शिक्षण प्रशिक्षणमा प्रयोग हुन सक्ने सामाग्रीहरु त्यति बनेको पाइन्न। फेरि सूचना र संचार प्रविधि अपनाउनुको मूल अभिप्राय नै सिकारूलाई रूची,क्षमताको आधारमा असंख्य सामाग्रीहरु उपलव्ध गराउनु भएकोले सफ्टवेयर उत्पादन र सहज वितरण अर्को महत्वपूर्ण कार्यक्षेत्र हो। हाम्रो पाठ्यक्रममा आधारित भएर लेख्य, चित्रीय, चल चित्रीय र अन्तरकृयात्मक सामाग्रीहरु निर्माणको लागि नीजि क्षेत्रलाई प्रोत्साहित गर्नु उपयुक्त हुनसक्छ। सुरुको चरणमा अन्य भाषामा उपलव्ध नि:शुल्क र खुल्ला सफ्टवेयरहरुलाई उल्था गरेर पनि काम लिन सकिन्छ। विश्वको अनुभवले रेडिमेड सामाग्रीहरु कक्षाकोठामा पस्कँदा सिकारूहरुको सृजनशिलतामा –हास आउने भएकोले शिक्षक र विद्यार्थीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई नै कक्षाकोठामा प्रयोग गर्नसक्ने गरी बनाउन प्रोत्साहन गर्नु जायज ठानिएकोले सो क्रम बढेकोछ। तेस्रो विश्वका गरीब मूलुकहरुको लागि भनी निःशूल्क सफ्टवेयरहरु निर्माण गर्ने अभियानहरुबाट नेपालले फाइदा उठाउन सक्ने भएकोले त्यता ध्यान दिनु उपयुक्त हुनेछ।  पाठ्यसामाग्री र त्यसको कक्षागत प्रयोग विद्यालय पिच्छे फरक फरक हुनसक्ने भएकोले राष्ट्रियस्तरमा स्तरिकरण गर्नको लागि पाठ्यक्रम विकास केन्द्र जस्तो निकायले नै विद्यालय तहको स्तरीय र औपचारिक सामाग्री सहितको एउटा शक्तिशाली स्रोतकेन्द्र बनाउनु त्यतिकै जरूरी हुन्छ। जसबाट शिक्षक तथा विद्यार्थीहरुले मनग्य लाभ लिन सक्नेछन्।यसो गरेमा अनौपचारिक शिक्षालयहरुले पनि अहिले झेलिरहेको स्रोतसामाग्रीको अभाव र अपर्याप्तता हल हुनसक्नेथियो।
  • विधि पध्दतिहरुको निर्माण र कार्यान्वन     
नेपालको शिक्षामा सूचना र संचार प्रविधिको प्रयोग संबन्धमा औपचारिक तवरमा राष्ट्रिय प्रारुप र गुरुयोजना निर्माण गरिएकाछन्। नीति निर्माणको तहबाट झरेर विद्यालय र अन्य कार्यान्वयनको तहमा धेरै कामहरु गर्नु बाँकि छ। कक्षाकोठासम्म कम्प्युटर र ईण्टरनेटको निर्वाध प्रयोग गर्न निति, नियम, विभिन्न संहिताहरुको निर्माण र तिनको व्यवस्थित प्रयोग अर्को महत्वपूर्ण सवाल हो। विद्यालय ज्ञान सीप वितरण गर्ने थलो मात्र नभै असल संस्कार नयाँपुस्तामा स्थापित गर्ने निकाय पनि भएकोले संबन्धित समाज र विद्यालयको संस्कार, मूल्य मान्यता र संबन्धहरुलाई सम्मान गर्ने गरी उपकरणहरुको प्रयोग गर्नु र सिकाउनु पनि त्यति कै महत्वपूर्ण कार्यक्षेत्र हो। आधुनिक समयमा ईण्टरनेट सुरक्षा र यसमा काम गर्नेहरुको संहिता अर्को महत्वपूर्ण विषय बनेर आएकोछ। अब मानिसको नीजि देखि असंख्य सूचनाहरु इण्टरनेटमा नै रहेन भएको तिनको सुरक्षाको मामिला पेचिलो बन्दै गैरहेकोले डाटाको सुरक्षा समेत शिक्षणको विषयवस्तु बनाउनुपर्ने भएकोछ।  
अन्तमा, हाम्रो सन्दर्भमा थप केहि महत्वपूर्ण सवालहरुमा प्राथमिकताकोसाथ ध्यानाकर्षण हुनु जरुरीछ। नेपालको विद्यालयहरुलाई विध्युतिकरण गर्ने मामिलालाई शिक्षा मन्त्रालय र विध्युत प्रधिकरणको साझा दायित्वभित्र राखेर द्रूतगतिमा अघि बढाउनुपर्छ। हाम्रो विद्युतको नियमितता र उतारचढावले हालसालै हामीलाई बढी महत्वाकांक्षी नबन्न सुझाउँछ। सोही बमोजिम कम्प्युटरको सुरक्षा, पाठ्यक्रम र योजनाहरु निर्माण गर्नुपर्नेछ। “नि:शुल्क” बनाइएका विद्यालयको विध्युत वायरिङ र महसूल अहिले पनि गार्हस्थ वितरणको भन्दा धेरै महंगो छ, खर्चको बन्दोबस्त गर्नुपर्नेछ। सोलार वा अन्य विद्युतबाट कम्युटर चलाउने रहर पूरा नहुनसक्छ। यसबारेमा अध्ययन र अनुभवहरुको विश्लेषण गरेर मात्र अघि बढ्नुपर्दछ। “विद्युत नभएको स्थानमा पनि कम्प्युटर” जस्तो नीरपेक्ष समानताको लोभबाट यी कार्यक्रमहरुलाई जोगाउनु अर्को महत्वपूर्ण सवाल हुनसक्छ। यस्तो लोभले परियोजनाहरु खर्चिलो र नटिक्ने हुन्छ। अहिले हाम्रो अवस्था भनेको विद्युत पुगेको स्थानको विद्यालयमा शक्तिशाली ईण्टरनेट पु-याउने, पुस्तकालयमा भए पनि शिक्षक आफैँले एउटा स्रोत कम्प्युटरबाट बिभिन्न किसिमका सूचनाहरु प्राप्त गर्ने, पेनड्राइभमा हालेर प्रोजेक्टर को सहायताले कक्षाकोठामा पाठयोजना बमोजिम प्रस्तुत गर्ने हो। अनि सकेको कम्प्युटर राखेर शिक्षक विद्यार्थीले कम्प्युटर सिक्ने प्रयोगशालाको व्यवस्था गर्ने हो। विद्यालयको प्रशासनिक, लेखा, परीक्षा लगायतको सामाग्रीहरु तयार गर्ने र इण्टरनेटको मद्दतले प्रशारण गर्नेहो।
त्यसैगरी पाठ्यक्रम निर्माण गर्दा अहिले गृहकार्य कम्प्युटर/ईण्टरनेटबाट गर्न पाउने र नपाउने विध्यार्थीहरुको लागि दुबै बाटो खोलेर जानु उपयुक्त हुनसक्छ। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोगको कुरा गर्दा अन्य उपलव्ध लोकपृय मिडियाहरुको प्रयोगको संभावनालाई पनि बिर्सनुहुन्न। तिनीहरुमा पत्र पत्रिका बाहेक टिभि, रेडियो, मोबाइल र सामुदायिक एफएम हुनसक्छन्।  स्थानीय सामुदायिक रेडियोहरु सस्तो र स्थानीय सामाग्री पस्कने साधन हुनसक्छन्। अहिलेसम्म हाम्रा मिडियाहरुलाई शिक्षाको शीर्षकमा कक्षाकोठाभित्र पाठ्योजना  र कक्षागत कृयाकलापसम्म पु-याउनसकिएकोछैन।
सारांसमा, नेपालको शिक्षामा सूचना र प्रविधिको प्रयोगको लागि सरकार अघि सर्नु अत्यन्त प्रगतिशिल कदम हो। गरिब जनताको गाँस काटेर जुटाएको राजश्व खर्चने यस्तो कार्यक्रमहरुलाई फराकिलो छलफल, विज्ञहरुको राय सल्लाहको आधारमा चूस्त दुरुस्त ढंगले कार्यान्वयन गर्नुपर्दछ। अन्यथा कार्यान्वयनमा हुने व्यथितिले उत्पादनमा –हास आउँछ। अनि त्यहि निष्कर्षलाई हेरेर हामी पछि हट्नेछौं । त्यतिबेला हामीलाई त्यतै छोडेर अरु धेरै अघि बढिसकेका हुन्छन्। 

No comments:

Post a Comment