गोरखा जिल्लाको बारपाक केन्द्र बिन्दु बनाएर गत
२०७२ साल बैशाख १२ गते बिहान ११ : ५६ मा गएको भूकम्प र तिनको पराकम्पनहरुले सिंगै नेपाल
हल्लिएकोछ। भूगोलको कुरा गर्दा यो अति प्रभावित राजधानी लगायत १४ जिल्ला, करीब ५०
लाख जनसंख्या भएता पनि यो भूकम्पले नेपालको सर्वत्र जीवन खल्बल्याएर गएकोछ। शिक्षा
क्षेत्रको कुरा गर्दा करीब २५ हजार कक्षाकोठाको क्षति, ६४ जना शिक्षकहरु, हजार
भन्दा बढी विद्यार्थीहरुको मृत्यु तथा हजारौं शिक्षक विद्यार्थीहरु घाइते भएकाछन्। एक
महिना भन्दा बढी विद्यालयहरु बन्द गरेर हालै मात्र टहरा, छाप्रा र पाल मुनि
विद्यालय सुरु गरिएकाछन्। भूकम्पले ध्वस्त विद्यालयहरु रातो स्टिकर लगाइएका छन्
भने चर्केका कक्षाकोठाहरु मर्मतको सिफारिस भएर बसेकाछन्। बालबालिकाको अभिभावक,
साथीहरु, इष्टमित्र र चिनेजानेकाहरु मारिएका, भत्केका संरचनाहरुले मनस्थिति,
मननोसामाजिक परिस्थिति अभूतपूर्व रुपमा खलबलिएकोछ। विद्यालयको युनिफर्म,
पाठ्यपुस्तक, शिक्षण सामाग्रीहरु थिचिएका हराएकाछन्। खानेकुराको अभावमा भोकै स्कूल
जानू कि नजानूको द्विविधामा रहेकाछन्। सरुवा रोग, महामारी तथा थप प्राकृतिक प्रकोप
र त्यसको संभावित डरले आतंकित छन्।
यो भूकम्पबाट भएको क्षतिलाई सम्बोधन गर्न
स्वभाविक ढंगले आम रुपमा सिंगै मूलुक लागेकोछ। सरकारको नेतृत्वमा संकटकाल नै
घोषणा गरेर यसका सम्पूर्ण अवयवहरु परिचालित गरिएकाछन्। संयुक्त राष्ट्र संघ,
सबैजसो मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय गै-हसरकारी संघ संस्थाहरु, तिनीहरुसंग
सम्बन्धित यहाँका गै-ह सरकारी निकायहरुको साथै हाम्रो आफ्नै देशका पनि राजनैतिक,
सामाजिक , धार्मिक तथा सम्पूर्ण सामुदायिक संघ संस्थाहरु उध्दार, राहत तथा
पूनर्स्थापनाको लागि जूटेको पाइन्छ। अभूतपूर्व रुपमा यहाँ र विश्वभर रहेका
नेपालीहरुमाझ देखा परेको एकता र आशावादिताले हामी यो आपदबाट उठ्नेछौं भन्ने आशा
जगाएको छ।
तर यहाँबाट उठेर कता र कसरी लाग्ने भन्नेमा केही
अन्यौल भएको देखिन्छ। यो प्रश्न भूकम्पले चर्किएको भवनको भित्ताहरु टालेर, रंग
लाएर कक्षा सुरु गर्ने कि भूकम्प र अन्य प्राकृतिक प्रकोपहरुबाट सुरक्षित भवन
बनाउने भन्ने जस्तै नै हो। शिक्षा क्षेत्रमा पनि अन्य क्षेत्रमा जस्तै विद्यालय
भवन मात्र भत्केको हैन, शिक्षाको सम्पूर्ण मक्किएका अवयवहरु पनि भत्केका छन्। आपदलाई अवसरमा बदल्ने
भने जस्तै यो हाम्रो शिक्षामा रहेको मूल्य मान्यता संस्कार र संरचना पनि बदल्ने
अवसर हो। यो कुरा मूलतः विचार तहको अघिल्तिर बढ्ने कि पुरानै तिर फर्कने भन्ने प्रश्न
पनि हो।
हाम्रो आधुनिक शिक्षामा उपनिवेशवादी बेलायतले
भारतीय उपमहाद्विपमा रणनैतिक ढंगले लादेको शिक्षा प्रणालीको असर प-यो। यो
मान्यताले सबैतिर केन्द्रीकृत पाठ्यक्रम, पाठ्यवस्तु, शिक्षक केन्द्रित शिक्षण
विधीहरु, परीक्षामूखी सोच निजामति ढाँचाको शैक्षिक प्रशासनको प्रयोग गरेको छ।
नेपालमा पनि परंपरागत धार्मिक शिक्षा प्रणालीबाट आधुनिकतातिर अघि बढ्दा शिक्षाले
व्यक्तिहरुको आन्तरिक सक्षमता वृध्दी गर्दै स्वतन्त्र, गुणस्तरीय जीवन यापन गर्ने मार्ग
प्रशस्त गर्नुको सट्टा परनीर्भर जागिरे मोह भएको वेरोजगार जमात तयार गर्दै गयो।
आफ्नो स्रोत साधन र संभावनामा श्रम र सीपबाट सम्पन्नता तर्फ जानुको साटो श्रम
नगर्ने सीप नभएका शिक्षित भन्नुपर्ने ‘गफाडी’हरु जमात नै हाम्रो शिक्षाको उत्पादित
जनशक्ति बनेकोछ । शिक्षाको अहिलेको यो स्वरुपलाई वूर्जुवा शिक्षा भने पनि नभने पनि
सबै सहमत भएको कुरो चाहिं के हो भने हामी यही ढंगमा रहेसम्म न त व्यक्तिको, न समाजको
र न राष्ट्रको नै शिक्षा मार्फत राखिएका लक्ष्य उध्देश्यहरु पूरा हुनेछ। यही निर
यक्ष प्रश्न चाहिँ, यो प्राकृतिक प्रकोपको विपदबाट अब उठदा आन्तरिक सक्षमता कम
भएको, विश्व परिदृष्यमा असान्दर्भिक र विद्यमान चुनौतिहरुलाई चिर्न नसक्ने त्यही
शिक्षातिर नै फर्कने हो कि यो विपदलाई अवसरको रुपमा लिई नयाँ दृष्टिकोण, मूल्य
मान्यता र विधि विधान सहितको समयानुकूल नयाँ शिक्षा प्रणाली तिर अघि बढ्ने भन्ने
नै हो। अतः नेपालको सार्वजनिक शिक्षाको पूनःपरिभाषित गरिनुपर्दछ।
अब नेपाली सार्वजनिक शिक्षाको मूल प्रस्तावनामा नै
शिक्षालाई सम्पूर्ण नेपाली जनताको ज्ञान सीप र व्यवहारमा गुणात्मक सुधार गरी
आफ्नो, समाजको र राष्ट्रको उन्नयनको लागि मार्ग प्रशस्त गर्नको लागि नागरिकको
अविच्छिन्न नैसर्गिक अधिकारको रुपमा परिभाषित गरिनुपर्दछ। यसलाई प्राकृतिक रुपमा
नै राज्यको दायित्व भित्र रहने गरी प्रवन्ध गरिनुपर्दछ। शिक्षण सिकाईको
दर्शन सबैले सिक्छन्, सिकाउन सकिन्छ, त्यसको लागि आवश्यक वातावरण बनाउने दायित्व
सिकाउनेहरुको हो भन्नेमा आधारित हुनुपर्दछ। मूलतः सबै वालवालिकाको शिक्षाको लागि
राजकीय प्रवन्ध गरिनुपर्दछ। राष्ट्र विकासको मूल कार्यक्षेत्रको रुपमा सार्वजनिक
शिक्षालाई पारिभाषित गरी स्रोतसाधनको अभावमा सिकाई अवरुध्द हुने विद्यमान
परिस्थितीलाई चिरेर गुणस्तरीय शिक्षा सबैलाई उपलव्ध गराउनुपर्दछ। पछिल्लो समयमा
प्राप्त ज्ञान र प्रवृत्तीमा आधारित बनाई
बदलिँदो विश्व सन्दर्भ र आफ्ना आवश्यकताहरु सम्बोधन हुनेगरी पाठ्यक्रम निर्धारण
गरिनुपर्दछ।
रेखदेख बिना रहेका अहिलेका छरिएका साना
विद्यालयहरुलाई संभव भएसम्म बालबालिकाको पहूँचलाई वाधा नपर्ने गरी एकीकरण गर्ने
गरी नंशाकन र पूनःनिर्माण सुरु
गर्नुपर्दछ। भवन निर्माण गर्दा न्यूनतम मापदण्डहरु निर्धारण गरी कडाईको साथ लागू
गर्नुपर्दछ। सबै विद्यालयमा हुनुपर्ने न्यूनतम भन्दा माथिको स्रोतसाधन बालबालिकाको
संख्यामा आधारित गरिनुपर्दछ। शिक्षाको विकासको लागि विद्यालयमा जाने बजेट विस्तार
गरिनुपर्दछ ।विद्यालय वालवालिकाको सुरक्षा, विकास र सिकाईको थलोको साथै भावनात्मक
रुपमा जोडिएको स्थलको रुपमा विकास गर्नुपर्दोरहेछ, जसले गर्दा उनीहरुले भविष्यमा
पनि त्यहाँको उत्पादन भएकोमा गर्व गरून्। सबै खालका वालवालिकाको सिकाईलाई
ग्यारेण्टी गर्ने गरी सजाईएका कक्षाकोठा, फर्निचर, शिक्षण सामाग्री र अन्य वातारण
सहितको कक्षाकोठाको जहाँ वालवालिकाले खेली खेली हासेर सिकून, त्यसको प्रवन्ध
जरुरीछ। आफ्नो भाषा, संस्कृति, चालचलन,भूगोल, आर्थिक, सामाजिक समूहको आधारमा
सिकाईको वातावरणमा नठगियून। आफ्नो बाबु-आमाको कमाईले खरिद गरीदिन नसकेको साधन
सामाग्रीको अभावमा विद्यालय छिर्न र टिक्न नसक्ने नबनून। बालबालिकाई किताब पढाउने सिकाउने भन्दा पनि
उनीहरुले जानेका देखेका सुनेका सूचनाहरको आधारमा ज्ञान निर्माण गर्ने थलोको रुपमा विद्यालयलाई
विकास गर्नुपर्दछ।
गुणस्तरीय शिक्षाको मूल कडी शिक्षक हो। गुणस्तरीय
शिक्षकको छनौट,विकास,प्रोत्साहन र टिकाउने प्रवन्ध नगरी हामी गुणस्तरको मूल बाटोमा
फड्को चाल्न सक्दैनौं। यसभित्र सबैभन्दा योग्य युवालाई पेशामा प्रवेश गराउन,
संसारको सबैभन्दा उत्तम मानिएका शिक्षक विकासको कार्यक्रमलाई स्थानीयकरण गर्दै
लागू गर्न, समयानुचित प्रोत्साहनको प्याकेजहरु उपलव्ध गराउन र उपयुक्त
शिक्षकहरुलाई अन्य क्षेत्रमा हाम फाल्नबाट जोगाउन शिक्षकमा नै उदार ढंगले लगानी
गर्नुपर्ने हुन्छ। अहिले पेशामा भएका विगतका गलत विधि प्रकृयाबाट प्रवेश गराईएका र
विकास, प्रोत्साहित गर्न नसकिने शिक्षकको पंक्तिलाई ससम्मान बिदा नगरी कहिँ
पुगिन्न। सित्तैंमा गुणस्तर खोज्ने, शिक्षकलाई अपमानित गरेर खेद्ने तरीकाबाट
संसारको कहिं पनि गुणस्तर प्राप्त भएका छैनन्, समस्याहरु हल पनि हुन्नन्।
त्यसकारण यो आपद मात्र हैन अवसर पनि हो। पूराना
भवनले मात्र हैन, हाम्रो पाठयपुस्तक केन्द्रित शिक्षाले बालबालिकालाई प्राकृतिक
प्रकोपहरुबाट जोगाउन सिकाएन। शिक्षकहरुलाई गरेको पुरानै तयारीले पाठ्यपुस्तक,
पुस्तिका भवन, बोर्डको अभावमा पनि भैरहेको सिकाईलाई संगठित गर्न पनि सिकाएन।
बालबालिकाले जानेको कुरा बिभिन्न तरीकाले परीक्षण गरी नतीजा प्रकाशित गर्न सिकाएन।
त्यसैले सो अभाव पनि पुरा हुने, विश्वको शिक्षामा भैरहेको नयाँ नयाँ अभ्यास र
प्रयोगहरुलाई हाम्रो शिक्षामा भित्र्याई बालबालिकाको सर्वतोमूखी विकासको ग्यारेण्टि
गर्न पनि अब विपदको बेलामा फेरि शिक्षा उतैतिर फर्कने हैन फेर्नुपर्दछ।