दोस्रो विश्वयुध्द समाप्त (१९४५) हुँदा मानव इतिहास कै अभूतपूर्व पीडा त छँदैथियो तथापि विश्वभरी नै नयाँ उत्साह पनि भरिएको थियो। मानव सभ्यता विकासको लागि शान्ति, लोकतन्त्र, समाजवाद, समानता, सामाजिक न्याय, मुक्ती र प्रगति जस्ता नयाँ अवधारणाहरु बहसमा थिए। औपनिवेशिक राष्ट्रहरु धमाधम मुक्त हुँदैथिए। युरोप नाजिवाद र फासीवादबाट मुक्त भएको थियो। नयाँ जागरण र विश्व व्यवस्थाको सपना सहित संयुक्त राष्ट्र संघ जस्ता निकायहरु स्थापना हुँदैथिए। श्रम आन्दोलनमा पनि विश्वका मजदुरहरु एक हौं भन्ने नारालाई आत्मसात गर्दै सोहि वर्ष पेरिसमा ५५ मुलुकका ट्रेड युनियनहरुको सम्मेलनबाट विश्व ट्रेड युनियन महासङ्घ (WFTU) गठन गरिएको थियो। यसको तत्कालिक राजनीतिक पृष्ठभूमी चाहिँ दोस्रो विश्वयुध्दमा पूँजीवादी र समाजवादी ध्रुवका प्रमुख राष्ट्रहरु बेलायत, फ्रान्स, संयुक्त राज्य अमेरिका र सोभियत संघ बिचको सहकार्य थियो। इटाली, जर्मन र जापानको फासिवादी, नाजिवादी र सैन्यवादी गठवन्धनलाई परास्त गर्न जुन वाम-प्रजातान्त्रिक रणनीतिक सहकार्य थियो।
तर त्यो उत्साह धेरै वर्ष टिक्न सकेन। मूलत
पूँजीवादी खेमा राष्ट्रका ट्रेड युनियनहरुले विश्व ट्रेड युनियन महासङ्घ (WFTU) लाई सोभियत संघबाट सञ्चालित भएको, कम्युनिस्ट सङ्गठन गरेको आदि आरोप लगाएर
१९४९ मा विश्व ट्रेड युनियन महासङ्घ छोडेर अर्कै आइसिटिएफटियु नाम गरेको महासंघ गठन
गरे। विश्व ट्रेड युनियन महासङ्घ दुई चिरा भयो। तैपनि समाजवादी राष्ट्रहरु, भर्खर औपनिवेशिक शासनबाट मुक्त भएका राष्ट्रहरु
र असंलग्न आन्दोलनका राष्ट्रहरुका ट्रेड युनियनहरुले विश्व ट्रेड युनियन महासङ्घ छोडेनन्।
शितयुध्दकालको अन्त
(१९९०) सम्म पनि विश्व ट्रेड युनियन महासङ्घको
वर्चस्व नै रहेकै थियो। तर १९९० मा शीतयुध्दको अन्त भएपछि समाजवादी खेमामा देखा परेको
चुनौतिपूर्ण नयाँ परिस्थितिले फेरि विश्व ट्रेड युनियन आन्दोलनमा संकट देखाप-यो, र थप ध्रुविकरण भयो। विश्व ट्रेड युनियन
महासङ्घमा सहभागी भएका पूर्व समाजवादी खेमा राष्ट्रका कतिपय राष्ट्रिय महासंघहरु, असंलग्न आन्दोलन राष्ट्रका महासङ्घहरु र
कतै पनि नलागेका युरोपका महासंघहरु मिलेर २००६ मा अन्तर्राष्ट्रिय ट्रेड युनियम महासंघ (ITUC) गठन गरे।
नेपालमा पञ्चायत कालभरी ट्रेड युनियनहरु
प्रतिवन्धित थिए। विश्व ट्रेड युनियन महासङ्घ (WFTU) मा चाहिँ पञ्चायत कालताका पञ्चहरु र सोभियत
सङ्घको विचार समर्थित मानिने कम्युनिस्ट पार्टीका नेताहरुको सहभागिता हुने गरेको बुझिन्छ।
तिनताका श्रमिकहरुको कार्यथलोमा यस्ता शक्तिहरुको उपस्थिति खासै नदेखिने भएकोले विश्व
ट्रेड युनियन आन्दोलनमा यिनको सहभागिता ‘भारदारी र पर्यटकीय’ तहमा सिमित रहेको बुझिन्छ।
हालसम्म आइपुग्दा विश्व मञ्चमा अन्तर्राष्ट्रिय ट्रेड युनियनमहासङ्घ (आइटियुसी) को सशक्त उपस्थिति देखिन्छ, आफूले २० करोड़ श्रमिकहरुको प्रतिनिधित्व
गर्ने दावी गर्दछ भने पुरानो विश्व ट्रेड युनियन महासंघ (डब्लुएफटियु) को सदस्यता ऐतिहासिक रुपमा खुम्चेकोछ।
विश्व ट्रेड युनियनको विवादमा शिक्षक आन्दोलन
विश्व ट्रेड युनियन महासङ्घ (WFTU) को धुरीमा फिसे भन्ने शिक्षक महासङ्घ थियो।
विश्व ट्रेड युनियन महासंघ (WFTU) भन्दा बाहिर समाजवादी, उपनिवेशबाट
मुक्त राष्ट्र र असंलग्न आन्दोलनका सहभागी राष्ट्रहरुका शिक्षक सङ्गठनहरु मिलेर डब्लुसिओटिपीमा
जोड़िए भने पूँजीवादी खेमाले आइएफएफटियु बनाए। डब्लुसिओटिपिले ट्रेड युनियन
अधिकारभन्दा पेशागत अधिकारहरुको वकालत गर्दथ्यो। शीतकालको समाप्ती पछि ११९३ मा ती दुई
महासङ्घहरु डब्लुसिओटिपि र आइएफएफटियुको मर्ज़ भएर ‘एजुकेशन ईण्टरनेशनल’ बन्यो। एजुकेशन ईण्टरनेशनल, आइटियुसीको
ग्लोबल युनियन फेडरेशनको हैसियतमा रहेकोछ। डब्लुएफटियु सम्बध्द शिक्षक महासङ्घ (फिसे) को उपस्थिति ख़ास ख़ास मुलुकमा, आस्थागत सहभागिताको रुपमा देखिन्छ।
नेपाली श्रमिक र पेशागत आन्दोलनमा विश्व सन्दर्भ
—————————————————————
नेपालमा पहिलो संगठित श्रमिक आन्दोलन विश्व
ट्रेड युनियन महासंघ
(WFTU) गठन
भएको करिब एक वर्ष पछि १९४७ (वि
सं २००३) मा विराटनगर जूट मिल्सबाट सुरु भएको थियो।
राणा शासनको अन्त हुने बित्तिकै २००८ सालमा नेपालमा ट्रेड युनियन महासङ्घ गठन भयो।
मुलुकको राजनीतिक अस्थिरता तथा विश्व श्रमिक आन्दोलनमा देखा परेको वैचारिक फूटको असर
त्यो महासङ्घमा पनि प-यो। २०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित
सरकार अपदस्थ ग़रेर राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाउँदा नेपालको ट्रेड युनियन महासङ्घलाई
पनि प्रतिवन्ध लगाए। भूमिगत रुपमा नै भए पनि ट्रेड युनियन महासंघ ब्युताउन अर्कों ३०
वर्ष लाग्यो। २०४६ सालको श्रावण महिनामा भूमिगत रुपमा गठित यातायात, होटेल, कार्पेट र कारख़ाना मजदुरहरु सङ्गठित गरी
जिफन्ट स्थापना गर्दा लोकतन्त्र र श्रमिक अधिकारको माग राखिएको थियो।
२००६ मा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) गठन गर्दा नेपालबाट स्वतन्त्र ट्रेड युनियनहरुको
समूह हुँदै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र पूँजीवादी खेमाबाट नेपाल ट्रेड युनियन
कांग्रेसको सहभागिता रहेको थियो। पछि अखिल नेपाल ट्रेड युनियन महासंघ (ANTUF) पनि यहि अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (ITUC) मा संलग्न रहेकोछ।
त्यसैगरी २०३६ सालमा राष्ट्रव्यापी आन्दोलन
सञ्चालन गरी पञ्चायती शासकहरुलाई झुकाएर आफूले बनाएको विधान अनुसारको संगठन दर्ता गराउने
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले डब्लुसिओटिपीको कार्यक्रममा १९८३ मा भाग लिएको, १९८६ मा सदस्यता ग्रहण गरेको देखिन्छ। सोहि
हैसियतले १९९३ मा एजुकेशन ईण्टरनेशनल गठन गर्दा ने रा शि सङ्गठन चार्टर मेम्बर रहेको
थियो। ट्रेड युनियन कांग्रेस आवध्द नेपाल शिक्षक सङ्घ एजुकेशन ईण्टरनेशनल (ईआई) को अर्कों चार्टर मेम्बर हो।
हाल आइपुग्दा, नेपाली ट्रेड युनियनहरु नेपाल ट्रेड युनियन
महासङघ (जिफन्ट) , नेपाल ट्रेड युनियन कांग्रेस (NTUC) र
अखिल
नेपाल ट्रेड युनियन महासङ्घ (आण्टुफ) अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) को तिन सदस्य राष्ट्रिय महासङ्घ हुन्। राप्रपा
र नेकपा (एकीकृत समाजवादी) समर्थित महासङ्घहरु आइटियुसीको सदस्यताको
लागि प्रयत्नरत रहेकाछन्। एजुकेशन इण्टरनेशनलमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक सङ्घ, निजी विद्यालयका शिक्षकहरुको प्रतिनिधित्व
गर्ने ईस्टू र विद्यालय कर्मचारी परिषदले सदस्यता प्राप्त गरेकाछन्।
त्यसैगरी विश्व ट्रेड युनियन महासङ्घ (WFTU) मा ने क पा ( एकीकृत समाजवादी) सम्बध्द पेशागत महासङ्घ (कोनेप) सदस्य रहेको छ। केहि समय अघिसम्म राप्रपा
सम्बध्द ट्रेड युनियन पनि विश्व ट्रेड युनियन महासङ्घ (WFTU) का गतिविधिमा संलग्न भएको देखिन्छ। तर विगतमा बाक्लो उपस्थिति जनाउने
अन्य केहि वाम पृष्ठभूमीका व्यक्तिहरुको संलग्नता घट्दै गएको भेटिन्छ। त्यसैगरी विश्व
ट्रेड युनियन महासङ्घ
(WFTU) सम्बध्द
शिक्षक महासङ्घ कार्यक्रमहरुमा एकीकृत (माओवादी), ने क पा (एकीकृत समाजवादी र ने क पा (मसाल) सम्बध्द शिक्षक सङ्गठनहरु उपस्थिति देखिन्छ।
विश्व ट्रेड युनियन आन्दोलनमा नेपाली राजनीतिको विचित्रको
चित्र
——————————————————————————-
नेपालको राजनीतिक दलहरु ध्रुविकरण मूलत वाम समाजवादी धारका कम्युनिस्ट
पार्टीहरु, उदारवादी पूँजीवादी धारको कांग्रेस र राजावादी
पुरातनपन्थीहरुको राप्रपा लगायतका दलहरु हुन्। यिनै दलहरुको वैचारिक सेरोफेरोमा नेपाली
ट्रेड युनियनहरु महासङ्घहरु गठन र गतिशिल भएको मानिन्छन्। नेपालमा यिनै ट्रेड युनियनहरुको
कार्यथलोमा र बिभिन्न तहमा हुने प्रतिनिधित्वहरुमा सहकार्य, प्रतिस्पर्धा र द्वन्द देखिन्छ। कतिपय साना
मानिने युनियन तथा महासंघहरुमा सम्बन्धित राजनीतिक दलहरुको बढ़ी नै हस्तक्षेपपूर्ण
उपस्थिती रहेको देखिन्छ। तर अन्तर्राष्ट्रिय संलग्नता र सहभागिताको कुरा गर्दा वैचारिक
संलग्नता र आवध्दताको घेरा तोडेको देखिन्छ। उदाहरणको लागि ने क पा (एमाले) नजिक मानिने ट्रेड युनियनहरु, जिफन्ट, अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) को संस्थापन सदस्य रहेको छ भने, पेशागत महासंघ (कोनेप) सुरु देखि नै विश्व ट्रेड युनियन महासङ्घ (WFTU) मा संलग्न छ। राजनीतिक दलसंगै विभाजित भएको
र वैधताको दावी गरिरहेको एमाले सम्बध्द अर्कों पेशागत महासंघ (कोनेप) र तिनको केहि सम्बध्द घटकहरु पनि विश्व
ट्रेड युनियन महासङ्घ
(WFTU) का कार्यक्रमहरुमा
सहभागी भइरहेको देखिन्छ। ने क पा (एकीकृत
समाजवादी) सम्बध्द ट्रेड युनियन महासङ्घ ( कोनेप) डब्लुएफटियुको सशक्त सदस्य रहेको छ भने
सोहि पार्टीको अर्कों ट्रेड युनियन महासंघ आइटियुसीको सदस्यताको लागि प्रयत्नशिल रहेकोछ।
नेकपा ( एकीकृत माओवादी) सम्बध्द ट्रेड युनियन महासंघ (आण्टुफ) आइटियुसीको सदस्य रहेकोछ भने सोहि दलको
शिक्षकहरुको माझमा बनाइएको अर्कों जनवर्गीय सङ्गठन विश्व ट्रेड युनियन
महासङ्घ
(WFTU) गतिविधिहरुमा
सकृय देखिन्छ। यो सवालमा नेपाली कांग्रेस स्पस्ट र व्यवस्थित देखिन्छ। सुरुदेखि नै
सबै पेशाकर्मी र श्रमिकका युनियहरुलाई एउटै ट्रेड युनियनको छाताभित्र समेट्ने र अन्तर्राष्टिय
धुरीको हिसाबले अन्तर्राष्ट्रिय ट्रेड युनियन महासङ्घ (आइटियुसी) मा समेटिएको देखिन्छ। नयाँ राजनीतिक शक्तिको
रुपमा उदाएका अति दक्षिणपन्थी र लोकृयतावादी शक्तिहरुले ट्रेड युनियनको उपस्थिती र
औचित्यलाई नै अश्विकार गर्दछन्।
शीतयुध्द कालिन धङ्धङी
———————————
विश्व ट्रेड युनियन महासङ्घ (WFTU) सम्बध्द नेपाल र छिमेकी राष्ट्रहरुका धेरैजसो
नेताहरुको कुरा सुन्दा सो महासंघ समाजवादी धारको भएकोले संलग्न भएको भन्दारहेछन्। तर, सो कुरा राप्रपा सम्वध्द ट्रेड युनियनका
नेताहरु चाहिँ ‘भन्ने कुरा हुन्’ भन्दा रहेछन्। विश्व ट्रेड युनियन महासङ्घ (WFTU) ले केहि नारामा समाजवादको वकालत गरेको देखिए
पनि विश्वमा समाजवाद स्थापनार्थ कुनै स्पस्ट विचार, नीति तथा कार्यक्रमको चाहिँ अभाव भएको त्यहिँ
आवध्द अर्का वाम पृष्ठभूमीका अनुभवी नेताले बताउँछन्। यदि सो दावीलाई मान्ने हो भने
नेपालका समाजवादी राजनीतिक दलका विचारले लेस मानिने अन्य ट्रेड युनियनहरु अन्तर्राष्ट्रिय
ट्रेड युनियन महासङ्घ
(आइटियुसी) मा संलग्न हुनुपर्ने कारण बुझिन्न। बरु
१९९० अघि संसारभरका मजदुरहरु एक हौं भन्दाभन्दै सदस्यहरुलाई विचारधारात्मक रुपमा ध्रुविकरण
गर्ने, दलहरु टुक्रिँदा सो को आधारमा नै श्रमिक
सङ्गठनहरु टुक्र्याउँदै लैजाने राजनीतिक संस्कारको विपक्षमा जानुपर्ने थियो, गएनन्। त्यसैगरी तथाकथित प्रजातन्त्रवादी
खेमाले उद्दण्ड पूँजिवादी मूल्य मान्यताले ऐतिहासिक र विश्वव्यापी रुपमा गरेको अमानवीय
शोषण उत्पीडनको मौन समर्थन गर्दै समाजवादी मूल्य मान्यताको विरुद्ध खड़ा भएका विश्व
संरचनाको समर्थन गरिरहे। भौतिक रुपमा प्रत्यक्ष रुपमा नभिडे तापनि त्यहि दुईवटा मूल्य
मान्यताहरुमा आधारित विचार, नीति
र संरचनाहरुको विचको युध्द नै शीतयुध्द थियो। त्यसको विश्वव्यापी तनाव १९९० मा सकियो
र नयाँ वहुध्रुवीय विश्व व्यवस्था तर्फ़ अघि बढ्यो। तर नेपालमा शीतयुध्द कालमा
तानाशाही
पञ्चायती शासन व्यवस्था भएकोले भित्रभित्रै रहेको त्यो तनाव थियो, जुन प्रजातान्त्रिक
व्यवस्था सुरु भएपछि १९९० पछि प्रकट हुन थाल्यो। विश्व स्तरमा भएको त्यो वैचारिक विभाजनको
विसर्जन भए यता नेपालमा चाहिँ १९९० पछि विकसित हुन थालेको ट्रेड युनियन आन्दोलनमा
प्रकट
भइरह्यो। तर त्यो पनि कुनै सैध्दान्तिक धरातलमा भन्दा अवसरवादको रुपमा असरल्ल देखिएकोछ।
त्यसले ट्रेड युनियन आन्दोलनलाई मजवुत बनाउने भन्दा कमजोर बनाइरहेकोछ।
तात्कालिक कार्यभार
—————————
नेपालको ट्रेड युनियन आन्दोलन पश्चिमाहरुको जस्तो औद्योगिक क्रान्तिले
खड़ा गरेको वर्गसंघर्षमा आधारित होइन। बरु, औपनिवेशिक
शासन व्यहोरेका दक्षिणका मुलुकहरुमा चलेको राष्ट्रिय मुक्ति आन्दोलनमा राजनीतिक दलहरुको
सापेक्ष, सहयोगी शक्तिको रुपमा बनेको ट्रेड युनियन
आन्दोलनबाट प्रभावित भएकोछ। त्यसैले यी संगठनहरुमा राजनीतिक दलहरुसङग आस्थागत सम्बन्ध
र संलग्नता हुने नै भयो। तत्कालको लागि यसबाट टाढा पुगिने आशा गर्नु अव्यवहारिक आग्रह
हुनेछ। यहि अवस्थामा पनि ट्रेड युनियनलाई मजवुत गर्नको लागि गर्न सकिने सुधार चाहिँ
के हो भने, सर्वप्रथम चाहिँ एउटा राजनीतिक दलसंग सम्बन्धित
भनिने ट्रेड युनियन सङ्गठनहरुको कामको प्रकृतिको आधारमा समायोजन (मर्जिङ) र महासंघहरुको पूनर्गठन र सबलिकरण हो। त्यसपछि
विचारधारात्मक रुपमा एकै तर्फ रहेकाहरुको न्यूनतम रुपमा सहकार्यका लागि बहस निर्माण
गर्न सकिन्छ। अझ अगाडि चाहिँ पेशाकर्मी र मजदुरहरु भनेर गरिने मनोवैज्ञानिक विभाजनको
खारेजी र विरोध गरिनुपर्दछ।
अझ सरल रुपमा ने क पा (एमाले) सम्बध्द भनिने कोनेप र जिफन्टको समायोजनको
लागि ढिलो भइसकेकोछ। समान कार्य प्रकृति त कार्यथलोका विविध युनियनहरुलाई समायोजन (मर्ज़) गर्ने र दुई महासंघलाई संयोजन गरी एउटै
महासंघ बनाउनुपर्दछ। त्यसैगरी ने क पा ( एकीकृत
माओवादी) का पेशागत र श्रमिक क्षेत्रहरुलाई नेतृत्व
गर्ने महासङ्घमा दर्ता भएका संगठनहरु एकर्कालाई समाजवादी र पूँजीवादी भनेर वादविवाद
गर्न छोडेर जोडिनुपर्दछ। नेकपा (एकीकृत
समाजवादी)का पेशागत क्षेत्रको नेतृत्व गर्ने र श्रमिकहरुको
नेतृत्व गर्ने सङ्गठनहरु नजोडिनु पर्ने कारण बुझिँदैन। त्यसपछि तत्कालिक कार्यनीतिक
कारणले छुट्टिएका दलहरुका महासंघहरु बिच मुद्दामा आधारित सहकार्य बढाउँदै जानु श्रेयश्कर
हुनेछ। अनेक संगठन बनाएर कार्यकर्तालाई ज़िम्मेवारी दिएर अल्मल्याउनु एउटा कुरा हो, तर यसले न त पेशागत न त श्रम आन्दोलनलाई
नै योगदान गर्न सक्छ। न श्रमिक वर्गको न्याय र प्रगति सम्भव हुन्छ, न त सामाजिक रुपान्तरण नै सम्भव हुन्छ।
यहि दौरानमा एजुकेशन ईण्टरनेशनलको चार्टर
मेम्बर भई अन्तरराष्ट्रिय शिक्षक आन्दोलनमा योगदान गर्ने हैसियत बनाएको नेराशिसंगठनले
आइटियुसीमा आवध्दता लिनु स्वभाविक नै हो। तर, सोहि संगठनले आफूलाई आइटियुसीको प्रतिद्वन्दी
ठान्ने डब्लुएफटियुको नेपाली सदस्य कोनेपको आवध्दता चुपचाप निरन्तरता दिने कुरा बुझिएको
छैन। नेराशिसङ्गठनका सदस्यहरुले संगठन मार्फत ईआईको आवध्दता शुल्क तिर्नु त स्वभाविक
होला, फेरि कोनेप मार्फत डब्लुएफटियु-फिसेलाई शुल्क तिर्नुको औचित्य पुष्टी गर्न
सकिन्न। ने रा शि सङ्गठनले एजुकेशन ईण्टरनेशनलको आवध्दता त्याग गर्नुहुदैन, त्यसैले कोनेप मार्फत डब्लुएफटियु-फिसेमा शुल्क बुझाउन छोड्नुपर्दछ । पेशागत
र ट्रेड युनियन आन्दोलनमा रहेको समाजवादी-पूँजीवादी
विभाजनकारी शीतयुध्दकालिन धङधङी छोड्नुपर्दछ साथै कुनै पनि प्रकारको अवसरवादबाट संगठनलाई
जोगाउनुपर्दछ र नेतृत्व जोगिनुपर्दछ। सबै वाद, विचार र रुझान भएका शिक्षकहरुलाई
संगठित, प्रशिक्षित र परिचालित गरेर मात्र ने रा शि सङ्गठनले राखेका लक्ष्य
उध्देश्यहरु हासिल गर्नसकिन्छ।
सन्दर्भ सामाग्री
https://www.wftucentral.org/history/
https://www.ei-ie.org/en/about/origins-and-history
https://www.ituc-csi.org/a-new-international-trade-union
https://gefont.org/publication-list/braving-the-challenges-nepali-trade-union-movement