भाद्र महिना औपचारिक काम गर्नेहरुलाई अलि फुर्सदिलो हुन्थ्यो, यसपाली त झन बिदाहरु बढे । सोसल मिडियामा फेसबुक, टिकटक हेर्दै जाँदा मलाई महिला शिक्षकहरुले तिजको र अन्य गितहरुमा छोटा भिडियोहरु बनाएर पोस्ट गरेको घत लाग्यो र लगभग सयवटा जति हेरेँ। एक दुई जना साथीहरुसङ्ग यहि विषयमा आधारित भएर युवा शिक्षकहरु, युवा शिक्षकहरु कति धेरै शृजनशिल भएछन् भनेर शेयर गरें। तर प्रतिकृया मिश्रित पाएँ। एकजना प्रधानाध्यापक साथीले चाहिँ आफ्नो विद्यालयका मिसहरुको ध्यान टिकटकमा मात्र छ भनेर असन्तुष्ठी देखाए। माध्यमिक तहमा गणित पढाउने एकजना युवा शिक्षकले चाहिँ त्यो सीप र उत्साहलाई शैक्षिक प्रयोजनमा प्रोत्साहन गर्नुपर्ने बताए। त्यसपछि मेरा विद्यार्थी वहिनीहरु जो अहिले शिक्षक छन् तिनीहरुसङ्ग कुरा गर्दा, सुरुमा लाज माने, र सम्भावनाको कुरा गरेपछि उत्साही भएर धेरै कुरा शेयर गरे। मलाई त्यहि विषयमा यहाँ अलिक बढी छलफल गरौं भन्ने लाग्यो। त्यसलाई सजिलो बनाउन हाम्रा आम विद्यालहरुमा अतिरिक्त कृयाकलापहरुको के कस्तो अवस्था छन्, यसको दायरा र सान्दर्भिकता बढाउन के के गर्ने होला र विद्यालय र शिक्षक स्वयमले के गर्ने होला भन्ने तिनवटा प्रश्नको वरिपरि विचारहरु प्रस्तुत गरेकोछु।
नेपालका पहाडी गाउँघरका प्रायजसो माध्यमिक
विद्यालयमा भलिबल भएपछि अतिरिक्त कृयाकलापको माग लगभग पूरा हुन्छ। टिफिन टाइममा
कम्पाउन्डमा भलिबल खेल्ने खेलाउने चलन पुरानै हो। छात्राहरुलाई खासै केहि
हुन्नथ्यो। जो भलिबल खेल्न रुचाउँदैनथिए, तिनका लागि
खास केहि हुँदैनथ्यो। जिल्ला स्तरीय खेलकुद भए पनि एथलेटिक्सका खेलहरु हुन्थे,
तर भलिबल खेलको भिन्दै शान र मान हुने गर्थ्यो। विद्यालयहरुमा
संगित सिकाउने खासै चलन छैन। नियमित त हैन, नाच्न चाहिँ
उत्सवहरुमा छात्राहरुलाई केहि सिकाइन्थ्यो। महिला शिक्षकहरुको संख्या बढेपछि आजकल
महिला शिक्षकहरु पनि नाचेको देखिन्छ। त्यसैले आम सार्वजनिक विद्यालयबाट अतिरिक्त
कृयाकलापबाट नेपालमा खेलाडी, कलाकर्मी हुने सम्भावना
देखिन्न। प्राविधिक सीप र जीवनमा त्यसको प्रयोगको बारेमा झन कुरै नगरौं। वौध्दिक
कृयाकलापमा हाजिरी जवाफ, वक्तृत्कला, वादविवाद र हिज्जे, निबन्ध लेखन, लेखन र चित्रकलाहरु पनि नियमित गरेको देखिन्न। हाम्रा सार्वजनिक
विद्यालयहरुमा अभाव छ। शिक्षा निःशुल्क बनाउने रहर र नीतिहरुले अलि अलि भरथेग
गर्ने सम्भावनाहरुको ढोका पनि बन्द भएकाछन्। आम रुपमा भौतिक स्रोत साधन, विषय शिक्षकहरु, शैक्षिक स्रोत सामाग्रीहरु,
शिक्षक विद्यार्थी सहयोग कार्यक्रमहरु, प्रविधि
र नवप्रवर्तनमा ती अभावहरु मज्जाले झल्कन्छन्। यसले गर्दा धेरै जसो विद्यालयहरुले
विद्यार्थीहरुको लागि पाठ्यक्रममा आधारित सिकाईका दायराहरुलाई खुम्च्याएर
पाठ्यपुस्तक आधारित र अझ साङ्गुरो गरी परीक्षा आधारित शिक्षण गर्नुपरेकोछ। खर्च
भर्नुभन्दा परीक्षामुखी तालिम जस्तो पढाईको पक्ष लिने व्यवस्थापन समिति, अनेक व्यवस्थापनको नेतृत्व गर्नुभन्दा कक्षामा थुनेर, पढ पढ भन्न पाउँदा गर्व गर्ने
प्रधानाध्यापक र शिक्षकहरु भएकोले विद्यार्थी बाहेक सबैको यसमा स्वार्थ मिलेको
हुन्छ।
त्यो
अभावबाट हुर्केका विद्यार्थीहरु उच्च शिक्षामा वा रोजगारीको सिलसिलामा अन्यत्र
जाँदा आफ्नो कमजोर सिकाईको महसुस गर्दछन्। आफू सरहका साथीहरु खेलहरु खेल्न, नाच्न, अनेक खाले बाजा बजाउन, कम्पुटर र इण्टरनेटका धेरै सीपहरु जानेको देखेर अनौठो मान्दछन् र आफ्ना
विद्यालयको सिमितता बुझ्दछन्। तर ढिलो भइसकेको हुन्छ। सबैजसोलाई थाहा छ, अतिरिक्त र वौध्दिक कृयाकलापले बालबालिकाको समग्र व्यक्तित्व विकासमा
योगदान पु-याउँछ। यसमा योगदान पु-याउने ती विशेष सहजकर्ता शिक्षकलाई ती
विद्यार्थीहरुले जीवन पर्यन्त सम्मान गर्दछन्। यसले बालबालिकाको सामाजिकीकरण हुने,
योजना बनाउने, निर्णय गर्ने र नेतृत्व
लिने, स्वयमसेवी बन्ने, सहयोग
गर्ने, द्वन्द व्यवस्थापन गर्ने जस्ता धेरै सीपहरु आर्जन
गर्नसक्छन्। उनीहरुको संवेगलाई व्यवस्थित गर्न सिक्छन्, तनाव,
आक्रोश र रिसरागहरु घटाउन सिक्छन्। हाम्रो शिक्षामा यी सीप र
व्यवहारहरुको अभाव भएको स्पस्ट देखिएकाछन्।
मैले ३ दशक जति शिक्षक तथा प्रधानाध्यापक भएर काम गरेँ।
माथि लेखिएका कुराहरु मैले मेरो वरीपरी देखेको र व्यहोरेको अनुभवमा आधारित छ। मैले
हिमाली भेग र मधेशका आम विद्यालयहरुको अतिरिक्त र सहकृयाकलापहरुको बारेमा भनिन।
मैले काम गरेको ग्रामिण भेगको विद्यालयमा पनि अभावै अभाव थियो, समुदायमा गरिवी
व्यापक थियो। विद्यालयमा भौतिक, शैक्षिक, मानवश्रोतको अभावको माझमा विषय शिक्षक
जुटाएर कक्षा सञ्चालन गर्नु नै ठूलो कुरा थियो। फेरि त्यस्तै विद्यालयबाट हुर्केर
आएका हामी शिक्षकहरुसङ्ग पनि सिकाउन सक्ने ज्ञान, सीप थिएन।
विद्यालय विस्तार भए पछि मैले एउटा जुक्ति निकालेँ।
प्राथमिक तहमा पढाउने शिक्षकहरु त प्रायजसो स्थानीय नै हुनाले विकल्प हुँदैनथ्यो।
तर, माध्यमिक तहमा पढाउने शिक्षकहरु नियुक्ति गर्दा वा सरुवा गर्दा विषय शिक्षण
बाहेक तपाईंसङ्ग विद्यार्थी र विद्यालयका लागि काम लाग्ने थप के के सीपहरु छन्,
कसरी योगदान गर्न सक्नुहुन्छ भनेर सोध्न थालेँ, महत्व दिन थालें। छनौटमा ती ज्ञान
र सीपहरुलाई अंक दिन थालियो। यो रणनीतिले विद्यालयमा शिक्षकको नियुक्तिसंगै विशेष
प्रतिभाहरु भित्रिन थाले। जिल्लाका प्रख्यात भलिबल खेलाडी गणित शिक्षक भएर
आउनुभयो, धेरै थरी बाजा बजाउन सक्ने, गाउन सक्ने अंग्रेजी शिक्षक, वौध्दिक
कृयाकलाप रुची भएका विज्ञान शिक्षक पाइयो। अरु औसत क्षमता र रुची भएका पुराना
शिक्षक पनि कस्सिएर वहाँहरुसङ्ग जुट्न थाल्नुभयो। व्यवस्थापनका नेताहरुलाई पनि
लगानी गर्न उत्साह बढ्यो। पाँच वर्ष भित्र हाम्रा शिक्षकहरुले गरेको मेहनतको नतिजा
देखिन थाल्यो। भौतिक पूर्वाधार, विद्यालयको सेवाहरु, विद्यार्थीको आकर्षण, नतिजा
सबै क्षेत्रमा चम्कियौं। जिल्ला स्तरमा हुने खेलकुद, अतिरिक्त, वौध्दिक
प्रतिस्पर्धामा पहिला कसैले नाम नसुनेको विद्यालयले पुरस्कार, शील्ड, मेडल र प्रमाणपत्रहरु
चाङ्ग लगाएर ल्याउनथाल्यो। त्यहि पृष्ठभूमीले एक दशक अघि सबै विद्यार्थीलाई अटाउने
बेञ्च र विषय शिक्षक जुटाउन नसक्ने गाउँले विद्यालय हेर्दा हेर्दै बिना
प्रतिस्पर्धा ‘संघीय तहको नमुना विद्यालय’ मा छनौट भयो। अझ अघि बढ्यो।
माथिको कथामा भएको प्रगतिमा अरु तत्वहरुको पनि भूमिका
होलान् तर विद्यालयलाई चम्काउन ती विशेष योग्यता क्षमता र स्वयमसेवी भावना भएका
शिक्षकहरुको अतुलनीय भूमिका रह्यो। समय र परिस्थिति बदलिएकोछ, अब चाहिँ त्यतिले पक्कै
पुग्दैन। विद्यालय शिक्षालाई प्रभाव पार्ने तत्वहरुमध्ये धेरै छिटो बदलिएको
प्रविधिको प्रयोग एउटा हो। अहिले प्रविधिको प्रयोग र गति समेट्न ज्ञान, सीप र
प्रयोग औपचारिक पाठ्यक्रमबाट मात्र सिकाएर सकिँदैन। यसको दुरुपयोग रोक्न ‘नैतिक र
जिम्मेवार’ प्रयोग सम्बन्धी विधा नै खडा भएकोछ। बालबालिकालाई प्रविधिको नैतिक र
जिम्मेवार प्रयोग सम्बन्धी व्यवहारिक सीपहरु सिकाउने काम पनि अतिरिक्त कृयाकलाप
हुनसक्छ। विद्यालयले यस्ता सीप नसिकाए पनि विद्यार्थीले केहि न केहि त सिक्छन्,
जुन गलत हुनसक्छ, खराब हुनसक्छ र पछि दुरुपयोग हुनसक्छ।
तर शिक्षामा प्रविधिको प्रयोगको बारेमा हाम्रो परम्परा
त्यति प्रगतिशिल छैन। मेरो दिदी विद्यालय
जाने उमेरमा वहाँहरुलाई हजुरआमाहरुले रेडियो सुनेको भनेर कराउनु हुन्थ्यो। केहि
वर्षमा नै विद्यालयमा रेडियो प्रयोग गरेर पढाउन थालेको देखियो। मेरो स्कूल जाने
जमानामा टिभि वा भिडियो हेरेको भनेर गाली खाइन्थ्यो, पछि शिक्षक भएपछि त्यसको प्रयोग
गर्नुप-यो। मैले २००८ मा फेसबुक एकाउण्ट बनाउँदा हेडमास्टर आफैं फेसबुक चलाउँछ
भनेर खिसिट्युरी गर्थे, पछि खिसिट्युरी गर्ने शिक्षकहरु र व्यवस्थापनका नेताहरुको
एकाउण्ट बनाउ सघाउनुप-यो। आजकल धेरै महिला र पुरुष शिक्षकहरुले टिकटक चलाउनुहुन्छ त्यस्तै,
कुरा काट्नेहरुलाई कण्टेन्ट भएकोछ।
अहिले सामाजिक सञ्जालको युग छ, आधाभन्दा बढी नेपाली
जनसंख्या सोसल मिडियामा छ। सोसल मिडियामा टेक्स्टुयल, इमेजबाट अडियो भिजुयल
सामाग्री बढी सजिलो र प्रभावकारी भएकोछ। त्यसका लागि टिकटक, रिल्स, सर्ट्स अनेक
एप्सहरुको सामान्य प्रयोग निःशुल्क उपलव्ध भएकोछ। तर यसको प्रयोगमा नेपाली
युवाहरुको सीपमा मात्र हैन, नैतिक र जिम्मेवारीपूर्ण प्रयोगमा पनि समस्या छन्।
त्यसको लागि प्रविधि प्रतिवन्ध लगाउनु भन्दा असल सीप र संस्कार सिकाउनु जायज
हुनसक्छ। यो कामका लागि डराई डराई भिडियो बनाएर सोसल मिडियामा अपलोड गर्ने हाम्रा
युवा शिक्षकहरुको सहयोग लिनु उपयुक्त हुन्छ। त्यसका अलावा विद्यालय भर्ना,
अनुपस्थिति, अभिभावक शिक्षा, किशोरी शिक्षा, प्राकृतिक प्रकोपबाट सुरक्षा,
क्यारियर काउन्सेलिङ लगायत अनेक क्षेत्र छन्, सोसल मिडियाबाट धेरै काम गर्न
सकिन्छ। त्यसैगरी कतिपय विषय शिक्षकहरुले पाठ्यक्रम आधारित रोचक शिक्षण
सामाग्रीहरु पनि बनाउनसक्नुहुन्छ। बिरसिला पाठहरुलाई गित, संगित र नाच मिसाएर
रसिलो बनाऔं। त्यसैले यी सबै सम्भावनाहरुको ढोका बन्द गर्ने हैन, व्यवस्थापन गर्ने
हो। यो सीप, जाँगर र रहर भएका शिक्षकहरुलाई प्रोत्साहन गरौं, तालिम गरौं, अझ
प्रभावकारी बन्न उत्साहित गरौं। काम लाग्ने सामाग्री बन्दा प्रोत्साहनको लागि
लगानी गरौं। यी कामहरुलाई संस्थागत गरौं। वहाँहरुले बनाएका शिक्षण सामाग्रीहरुको
प्रदर्शनी र प्रतियोगिताहरु गराऔं। पेशागत काममा सोसल मिडिया प्रयोग गर्ने
शिक्षकहरुको सके अन्तर्राष्ट्रिय तहको नसके राष्ट्रिय नेटवर्क बनाएर अनुभव र
सीपहरु आदानप्रदान गर्ने वातावरण बनाऔं। शिक्षकका विशेष ज्ञान, सीप र जोश जाँगरलाई
विद्यार्थी र विद्यालयको हितमा प्रयोग गरौँ। अर्थात “भाइरल मिस”हरुलाई अझ सिपालु,
उत्साही र जिम्मेवार बनाऔं, सम्भव छ।



